४ माघ, काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी प्रयास मा लागेका विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा आफूहरुका माग र आगामी रणनीतिबारे जानकारी गराउने नेताहरुले बताएका छन् । आज दिउँसो २ बजे प्रतिपक्षी दलको बैठक बस्ने र ३ बजे संसद भवन भित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
सो बैठकले सरकारसँग राख्ने माग र विपक्षी दलहरुको रणनीतिको मस्यौदा तयार पार्न माओवादी केन्द्रका नेता वर्षमान पुन र एकीकृत समाजवादीका नेता बेदुराम भुसाललाई जिम्मेवारी दिएको थियो । त्यसैलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।
यसबीचमा सत्ता पक्षमा रहेर मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेमकिपालाई समेत विपक्षी गठबन्धनमा समेट्न प्रयास गर्ने निर्णय समेत विपक्षी दलहरुको बैठकले गरेको थियो ।
सत्ता गठबन्धनले ६ महिना पार गर्दैगर्दा विपक्षी दलहरूले सरकारप्रति आक्रामक हुने संकेत देखाएका छन् । उनीहरूको संकेतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘मसिना ढुंगा हानेर विशाल नदी थुन्ने प्रयास’ गरेको भनी कटाक्ष गरेका छन् ।




















Discussion about this post