दक्षिण कोरिया, पुस २८-
दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ। गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो।
उडानको अन्तिम क्षणहरूको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्याङ्क नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने विषय खोजी भइरहेको अधिकारीहरूले बताए। “जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्याङ्क हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,” मन्त्रालयले भनेको छ। दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले ती बाकसहरू अनुसन्धानका लागि महत्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए।
‘विभिन्न तथ्याङ्कको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ। दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धानकर्ताहरूले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा औंल्याएका छन्। चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण ९चरासँग ठक्कर० खानसक्ने चेतावनी दिएका थिए, त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन। यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ–योलले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलमा रहेको विमानको एउटा इन्जिनमा ‘प्वाँख हरू फेला परेको’ बताएका थिए।
अधिकारीहरूले दुर्घटना भएको स्थानमा रहेको मुआन विमानस्थल, दक्षिणपश्चिमी शहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन्। उनीहरूले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन्। विपक्षी दलले दुर्घटनाको छानबिनका लागि संयुक्त कार्यदल गठन गरेका थिए भने यातायातमन्त्री पार्क साङ–वूले यसै साता राजीनामा दिएका थिए। राजीनामाको घोषणा गर्दै उनले भनेका थिए, “उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका लागि मार्गप्रशस्त गरेको छु।” एएफपी




















Discussion about this post