पुस २३-
बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।

यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएको र तत्काल परीक्षणका लागि पाइप लाइनबाटै पेट्रोल र मट्टितेल ल्याइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो ।
“पाइप लाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइप लाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ”, उहाँले भन्नुभयो, “पाइप लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” त्यो सँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको उहाँको भनाइ छ ।
दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी नियमित आयात सुरु गर्ने विषयमा छलफल भइरहेको जनाउनुहुँदै उहाँले जनवरी २०२५ देखि पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने बताउनुभयो । रासस




















Discussion about this post