१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले गुणस्तरीय र निःशुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै महरले गुणस्तरीय र निःशुल्क शिक्षा नै आजको आवश्यकता भएको औंल्याए ।
कांग्रेस पार्टी निःशुल्क र गुणस्तरीय शिक्षाको नीति निर्माणमा समेत जुटेको उनले जानकारी दिएका छन् ।
उनले निजी क्षेत्रका शैक्षिक संस्थाको लगानीको सुरक्षा प्रत्याभूत गर्ने जिम्मेवारी सरकारको भएको र त्यसबाट सरकार विमुख हुन नहुनेसमेत बताएका छन्।
व्यक्तिको लगानीको संरक्षण गरिनुपर्छ भन्नेमा कांग्रेस सधैँ प्रतिबद्ध र जिम्मेवार रहेको महरको भनाइ छ । सरकारले लगानीको सुरक्षा गर्दा त्यस्ता शैक्षिक संस्थाका सञ्चालकले लगानी व्यक्तिको अनुकूलतामा मात्र प्रयोग नगरेर सोही संस्थाको विकासमा सदुपयोग गरेर थप गुणस्तरीय र सेवामुखी बनाउनेमा जिम्मेवार सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले औंल्याएका छन् ।
ठूलो संख्यामा मानिस विदेश गइरहेको अवस्थामा कुनै दिन नेपालमा विद्यार्थी पाउने कि नपाउने भन्ने संकट निम्तन सक्नेतर्फ उनले चिन्ता व्यक्त गरेका छन् ।
‘यस्तो अवस्थामा शुल्क लिएर हामीले विद्यार्थी पढाउँछौं र नेपालको समग्र शिक्षाका बारेमा बोल्न सकेनौं भने यसको ठूलो असर पार्नेछ । पैसा तिर्न सक्ने विद्यार्थी सबै पलाएन हुँदा निजी शैक्षिक संस्था बन्द गर्नुको विकल्प हुँदैन,’ उनले भने, ‘निःशुल्कका विभिन्न मोडल हुन सक्छन् । भौचर सिस्टमबाट पनि विद्यार्थीको खर्च राज्यले तिर्ने गरी हुनसक्छ । यस्तै अन्य कुनै विधि हुन सक्छन् । हुनेले तिर्ने ,नहुनेले निःशुल्क पढ्ने पद्धति पनि अवलम्बन गर्न सकिन्छ ।’




















Discussion about this post