दाङ – ऋणले थला परेपछि एक जना वडाध्यक्ष विदेश पलायन भएका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ बेलायत पुगेका हुन् । गत मंगलबार उनले वडासचिव असलेख कुमार चौधरीलाई कार्यवाहक जिम्मेवारी सुम्पिएकोबारे चिठी तयार पार्न लगाए । तर उनले आफू कहाँ जान लागेको भन्नेबारे पत्रमा खुलाएनन् ।
वैदेशिक भ्रमणमा जाँदैछु भन्ने व्यहोराको चिठी लेख्न लगाएको सचिव चौधरीले जानकारी दिए । ‘वडाध्यक्षज्यूले म वैदेशिक भ्रमणमा जाँदैछु, कावा चिठी बनाइदिनुस भन्नुभएको थियो’, सचिव चौधरीले भने, ‘तर अहिले उहाँ रोजगारकै लागि बेलायत पुग्नुभएको परिवारबाट थाहा पाइयो ।’
वडाध्यक्ष गुरुङले चिठी बनाएको भोलिपल्ट वडा सदस्य चम्पा पुनलाई कार्यवाहक जिम्मेवारी दिइएको थियो । आफू वैदेशिक भ्रमणमा जान लागेको र नफर्कुञ्जेल वडाको कामकाज सम्हाल्न भनेको वडासदस्य पुनले बताइन् । भनिन्, ‘कहाँ जान लाग्नुभएको हो, कहिले जानुहुने हो मलाई केही भन्नु भएन, म नफर्किञ्जेल तपाईंले नै सम्हाल्नुहोला भनेर जानुभको छ ।’
वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । घरमा पत्नी संगीता र दुई सन्तान छन् । वडाध्यक्ष गुरुङले बेलायतको भिसा कसरी पाए ? भन्नेबारेमा आफूलाई केही थाहा नभएको वडासचिव चौधरीको भनाई छ । उनका अनुसार एक डेढ वर्षयता वडाध्यक्षले गाउँका विभिन्न व्यक्तिहरुसँग ऋण समेत लिएका थिए । उनी ऋणमा डुब्दै गएपछि मुलुक छाडेर रोजगारीकै लागि त्यता गएको हुनसक्ने अनुमान छ ।




















Discussion about this post