२२ श्रावण – टीकापुरमा फेरी बाघले आक्रमण गरेर बाख्रा मारेको छ। गयराति बजार नजिकै पुगेको बाघले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा मारेको छ। खोरमा रहेका अन्य केही बाख्रालाई भने चोटपटक लागेको बताईएको छ।
आइतवार राति बाघले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको थियो। स्थानीय बिजुसिँह बिष्ट र दुर्गा परियारका ३÷३ वटा बाख्रा मारेको बाघ राति बजार नजिकै पुग्दा स्थानीयमा त्रास बढेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गएराति बाघ बजारको धेरै नजिक प्रवेश गरेको देखिन्छ। घटनास्थल टीकापुर नगरपालिका भवनभन्दा करिब पाँच सय मिटर आसपासमा रहेको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक लोकराज अवस्थीले बाघको आक्रमण बढ्दै गएको हुँदा सतर्क रहन आग्रह गरेका छन्। बस्तीभित्रै पसेर बाघले आक्रमण गर्न थालेपछि थप जोखिमको सम्भावना रहेको हुँदा आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे।
टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडानम्बर ३ स्थित रानीकुलाको मुहान क्षेत्रमा बेलाबखत बाघ देखिने गरेको छ। स्थानीयका अनुसार सो बाघ डमरुसहित बेलाबेला स्थानीय कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा समेत देखिन्छ।
अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।




















Discussion about this post