रास्वपाका नेताहरुले ५ दिन सार्वजनिक गाडीमा यात्रा गर्नुपर्ने

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
rabi_r4uKc3p1Yn
फाइल तस्विर

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ ।

सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन केन्द्रीय सदस्य र सांसदहरुलाई निजी सवारी साधनको सट्टा पाँच दिन सार्वजनिक यातायातका साधनमा यात्रा गर्न भनेको हो ।

पार्टी सभापति रवि लामिछानेको प्रस्ताव अनुसार केन्द्रीय सदस्य र सांसदहरूले सार्वजनिक यातायातको वर्तमान अवस्था नजिकबाट बुझ्ने र अनुभव गर्ने प्रक्रिया स्वरूप पाँच दिन आफ्नो निजी सवारी साधनको साटो सार्वजनिक यातायातको प्रयोग गर्ने प्रस्ताव गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

‘नेपालमा सार्वजनिक यातायातमा धेरै सुधारको आवश्यकता छ र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसमा सुधार ल्याउनको लागि एउटा खाका कोरेर स्पष्ट योजनासहित संघिय सदनमा सार्वजनिक महत्वको प्रस्ताव तयार गरिरहेको छ,’ कार्यवाहक प्रवक्ता झाले भने, ‘तर प्रस्तावित कानुनको तयारी गर्ने क्रममा कानुन बनाउने प्रक्रियामा आबद्ध जनप्रतिनिधिहरूले त्यसको यथार्थ अनुभव गर्न आवश्यक हुन्छ ।’

आपत्कालीन अवस्था, स्वास्थ्यको कारण वा अन्य कुनै पनि किसिमको अप्ठ्यारोमा परेकाहरुका लागि भने सार्वजनिक यातायातका साधन प्रयोग बाध्यकारी नभएको झाले बताए ।

नागरिकको दैनिकी सहज भएमात्रै देशको अर्थतन्त्र पनि सुधार हुने भन्दै रास्वपाले नागरिकको दैनिकी सहज हुने एउटा प्रत्यक्ष कारण सार्वजनिक यातायातको सहजतापूर्ण र सुरक्षित सुविधा भएको ठहर गरेको छ ।

सबै समस्या एकैपटक समाधान नहुने भएकाले त्यसलाई सानोसानो टुक्रामा बाँडेर अध्ययन गर्न आवश्यक रहेको भन्दै रास्वपाले त्यसको सुरुवात सार्वजनिक यातायातको क्षेत्रबाट गर्न थालेको जनाएको छ ।

‘नेपाली नागरिकले विभिन्न समस्याहरू झेलिरहेका छन् । सबै समस्या एकैपटक समाधान हुँदैन तसर्थ त्यसलाई सानोसानो टुक्रामा बाँड्नुपर्छ,’ झा भन्छन्, ‘समस्याको कारण बुझेर, अनुभव गरेर, विश्लेषण गरेर त्यस सम्बन्धी समस्याको समाधानको खाका कोर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित