१७ साउन, विराटनगर । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो ।
प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन् ।
तर प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको देखिएको प्रहरीले बताएको छ ।
बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए । चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन् ।
पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ ।




















Discussion about this post