काठमाडाैँ- राहत शिक्षककाे बिरामी बिदा कटाैतीप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समिति (एनएनटीए) ले आपत्ति जनाएकाे छ। यही साउन ४ गते संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकले पाउँदै आएकाे बिरामी बिदा कटाैती गर्न स्थानीय तहलाई निर्देशन दिएपछि एनएनटीले आज प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएकाे हाे।
एनएनटीएले मन्त्रालयकाे उक्त निर्देशन शिक्षककाे कानुनी हक हनन् भएकाे बताएकाे छ।
महासचिव हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,‘सामुदायिक विद्यालयमा अनुदान कोटा (राहात) शिक्षकले विद्यालयसँग भएको करार सम्झौतामा उल्लेख भए बमोजिम एक आर्थिक वर्षमा उपभोग गर्न पाउने १२ दिनको बिरामी बिदालाई अर्को आर्थिक वर्षमा सञ्चित गरी राख्ने, उपभोग गर्ने एवं विद्यालयबाट उक्त समयको तलब भत्ता लिने गरेकोले सो नगर्नको लागि परिपत्र परिपालन गर्ने गराउने भनि निर्देशन गरिएबाट सामुदायिक विद्यालयमा दुई दशकदेखि कार्यरत राहत शिक्षकको पेसागत हक अधिकारको हनन् हुने देखिएकोले तत्कालीन शिक्षा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम नै उपभोग गरी आएको बिरामी बिदाको सहुलियतलाई हाल आएर कटौती गर्ने कुराले शिक्षकको कानुनी हक हनन् भएको छ।’
त्यसकाे असर समग्र शिक्षाको गुणस्तरमा पर्ने भन्दै संगठनले सबै प्रकारका शिक्षक कर्मचारीको बिदासम्बन्धी सेवासुविधामा एकरुपता कायम गर्न माग गरेकाे छ।




















Discussion about this post