१३ साउन, काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।
लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो ।
असार २८ गते चितवन महानगरपालिका–२९, सिमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो ।
तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुनसकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।
दुर्घटनामा परेका कतिपय यात्रुका परिवारले कुशको शव बनाएर अन्तिम दाहसंस्कार प्रक्रिया पनि पूरा गरिसकेका छन् । पछिल्लो समय बसमा यात्रारत यात्रुका शवसमेत फेला पर्न छाडेकाले बस फेला पर्ने सम्भावना न्यून रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका एक कर्मचारीले बताए । ‘अबचाहिं सम्भावना छैन । त्यही पनि हाम्रोतर्फबाट खोजी प्रयत्न जारी राखौं भन्ने मात्रै हो’, ती कर्मचारीले भने ।




















Discussion about this post