३० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् ।
प्रचण्ड सरकार ढलेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार विदाइ कार्यक्रम राखेका थिए । गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे ।
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे । उनले अगाडि भने, ‘अडियो, अरु थुप्रै कुराले पुष्टि हुने ठाउँ प्रशस्त थिए । अनुसन्धानका दुई कुनै शक्ति केन्द्रमा पुग्दा तपाईंहरुको हात नकामोस् ।’
आफ्नै मेरो विषयमा पनि धेरै कुरा उठेको छ, भोलि पनि उठ्ने लामिछानेले बताए । ‘मैले आजसम्म आफ्ना विषयमा न यो गर्नुस्, त्यो गर्नुस् भनेको छु न मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट खोजेको छु’ आफ्नै गृहमन्त्रीलाई हत्कडी लगाउन सक्ने साहस भरेको छु भनेर संसदमै भनेको स्मरण गर्दै उनले भने, ‘मन्त्री भएकै कारण अठ्यारो परेको रहेछ भने आजैबाट गहन अध्ययन अनुसन्धान गर्नुस् ।’
अब आफू प्रतिपक्षमा रहने भन्दै उनले राजनीतिमा नयाँ पुस्ता आइसकेको छ र जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने महसुस गर्न सुरक्षा निकायलाई आग्रह गरे ।
‘प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन्,’ लामिछानेले भने, ‘आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा (नजर), मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’




















Discussion about this post