चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने बताए । उनका अनुसार महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।

‘मूलतः आरसीसीको काम भएकोले सोही कामका अनुभवीलाई समेत टेन्डर हाल्न मिल्ने गरी पुनः टेन्डर गछौं’, आर्यालले भने, ‘पहिला गरिएको टेन्डरमा एक मात्रै कम्पनी आयो, एकमात्रै कम्पनी हुँदा तोकिएको मूल्यभन्दा घटीघटाउमा नआउने देखिएकोले रद्द गर्नुपरेको हो ।’
महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्यारापिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका लागि टेन्डर निकालिएको थियो ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्यारापिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ ÷३ तलाको टावर बनाइने छ ।

एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।
संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषद्को गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।
सरकारको मंगलबारको नीति तथा कार्यक्रममा पनि रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
धुर्मस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिगाहा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।

कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्यारापिटमा ३ हजार दर्शक बस्न मिल्ने प्यारापिट बनिसकेको छ । प्यारापिटका लागि २८६ पिलर उभ्याइएको छ । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउन्डेसनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।




















Discussion about this post