मिटरब्याजको आधारमा ठगी गर्दै आएको आरोपमा सर्लाही कौडेनाकी बिनाकुमारी देवीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेकाे छ।
उनलाई काठमाडौंको बसुन्धारास्थित घरबाटै पक्राउ गरेर गएराति सर्लाही लगिएको प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
‘मैले व्यवसायको लागि माइजुसँग ११ फागुन ०७७ मा २० लाख ऋण लिएको थिएँ,’ चौधरीले भने, ‘त्यो ऋण बापत मैले साउँ व्याज गरेर माइजु र उनका छोरालाई झण्डै ७० लाख बुझाइसकेँ। मैले अझै त्यो ऋणबाट उन्मुक्ति पाएको छैन।’
बिनाकुमारी विरुद्ध उनका भान्जा चौधरीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दिएको ठगी मुद्दाको छलफलका लागि चार महिनादेखि बोलाउँदा पनि उनी सर्लाही नगएपछि सर्लाही प्रहरीसँगको समन्वयमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिना कुमारीले चेक बाउन्स र मिटरव्याजको आधारमा चौधरीलाई ठगी गरेको पाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
इँटा व्यवसाय गर्दै आएका चौधरी आफन्तकै ठगीमा परेपछि अहिले बेराजगार भएका छन्। ‘इँटाकै व्यवसायको लागि माइजुसँग २० लाख ऋण लिएको थिएँ। तर, मामा-माइजुले नै मलाई ठगी गरे,’ उनले भने, ‘अहिले व्यवसाय पनि छैन। वेराजगार भएको छु।’
चौधरीलाई न्यायको लागि पहल गर्दै आएकी सर्लाहीकी मिटरव्याज विरोधी अभियन्ता सरस्वती मिश्र (वाग्ले)ले बिनाकुमारी पक्राउ परेपछि उनलाई छुटाउन प्रहरी प्रशासनलाई राजनीतिक दबाब आउन थालेको बताइन्।
‘उनी अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा छिन्। सीडीओ र प्रहरीका हाकिमहरु बिनाकुमारीलाई काठमाडौंबाट पक्राउ गरेर सर्लाही ल्याएपछि हामीलाई राजनीतिक प्रेसर बढ्यो भन्दै हुनुहुन्छ,’ मिश्रले भनिन्, ‘दोषीलाई कानुनी कारबाही नगरी उन्मुक्ति दिने प्रयास भयो भने ठिक हुँदैन।’
चौधरीलाई जस्तै बिनाकुमारीले अन्य धेरैलाई ठगी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।




















Discussion about this post