
काठमाडौं– यही भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्स सम्बन्धि अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अप्लायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।
विद्युत, विद्युतीय उपकरण तथा उर्जासँग सम्बन्धित यो दोस्रो संस्करणको प्रदर्शनी हो । यसलाई नेपालकै पहिलो एकमात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी भनिएको छ, जसलाई मिडिया स्पेस सोलुसन्स् (एमएसएस) का साथै एक्जिविसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना गर्न लागिएको हो ।
यो प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरू प्रदर्शनी, सम्मेलन र साझेदारीको समायोजन गर्न खोजेको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन् ।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १ करोड ३९ लाख पुग्ने अपेक्षा गरिएको छ । उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ, जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवालाहरू ध्यानाकर्षण हुनु आवश्यक छ ।
नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप ९भारतवर्ष० का सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजक संस्थाको विश्वास छ ।
विज्ञप्तीमा भनिएको छ– ‘विद्युतीय उपकरणहरूको हकमा नेपालमा घर–घरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणहरूको प्रयोग हुने गर्दछ । आम नेपाली जनमानसले घरका हरेक कुनामा विद्युतीय उपकरण प्रयोग गर्नै पर्ने हुन्छ । साथै हरेक क्षण संसारमा नयाँ–नयाँ विद्युतीय उपकरणहरूको आविष्कार तथा नयाँ र प्रभावकारी प्रयोगहरू पनि ल्याइँदै छन् । यस सिलसिलामा यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउने छ ।’
नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन् । नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने छ ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स पावर लाइट तथा होम अपलायन्सेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भइरहेको जानकारी पनि आयोजक संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।




















Discussion about this post