सरकारले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्छ : प्रधानमन्त्री

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
pushpa-kamal-dahal-1162023010600-1000x0
फाइल तस्विर

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्ने बताएका छन् । आइतबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका उनले एकीकृत क्लालेन्डर लागू गर्ने गृहकार्य भइरहेको जनाए ।

विश्वविद्यालय अनुदान आयोगले क्यालेन्डर बनाउन प्रारम्भिक काम सुरु गरेको छ । उक्त क्यालेन्डर आगामी भदौदेखि लागू गर्ने तयारी छ ।

‘विश्वविद्यालयका शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा लागू हुन नसक्दा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशन सम्बन्धी कार्य निर्धारित समयमा नभई विद्यार्थीको भविष्यमा धक्का लागेको छ, अभिभावकमा आफ्ना सन्ततिको भविष्यप्रति चिन्ताबोध हुने गरेको छ,’ दाहालले थपे, ‘विश्वविद्यालयमा निश्चित संख्यामा विद्यार्थी भर्ना भएपश्चात परीक्षा कहिले हुने र परीक्षाफल कहिले प्रकाशन गर्ने भन्ने तालिका निश्चित हुनुपर्दछ । सरकारले उच्च शिक्षा र विश्वविद्यालयका लागि ठोस समयतालिकासहितको क्यालेन्डर बनाउने र त्यसलाई कडाइका साथ लागू गर्ने कार्यको गृहकार्य थालिसकेको छ ।’

उच्च शिक्षासम्बन्धी राष्ट्रिय क्यालेन्डर तयार भएपछि उक्त क्यालेन्डरको सेरोफेरोमा विश्वविद्यालयहरूले आ–आफ्नो क्यालेन्डर बनाई कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए । क्यालेन्डर लागू नहुँदा त्रिभुवन विश्वविद्यालयलगायतमा नतिजाका लागि १८ महिना र परीक्षाका लागि १२ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । आयोगले तोकिएको समयमा भर्ना, परीक्षा र नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान कटौती गर्ने गरी क्यालेन्डर लागू गर्ने तयारी भइरहेको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले संघदेखि प्रदेशसम्म नयाँ/नयाँ विश्वविद्यालय स्थापना भएकोप्रति असन्तुष्टि जनाएका छन् । एउटै विषय पढाउन र उपाधि प्रदान गर्न धेरै विश्वविद्यालयहरू आवश्यक नपर्ने उनको भनाइ थियो । विज्ञहरूको सुझावविपरीत संघ र प्रदेश तहमा एक दर्जनभन्दा बढी नयाँ विश्वविद्यालय स्थापनाको तयारीमा छन् । ‘केही वर्षयता नेपालमा विश्वविद्यालय स्थापनाको होडबाजी चलेको छ, विश्वविद्यालय खोल्नुअगावै साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक छ,’ उनले भने । आवश्यक पूर्वतयारी नगरी विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरू स्थापना गर्दा उच्च शिक्षामा समस्या थपिँदै गएको प्रधानमन्त्रीले जनाए । ‘गुणस्तर र विश्वसनीयताको सवाल गम्भीर प्रश्नका रूपमा खडा भएको छ, गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयहरू चुस्त र गतिशील रहनु आवश्यक छ,’ उनले भने ।

नेपालको जनगणनाअनुसार जनसंख्याको बनोटमा विद्यालय र विश्वविद्यालय तहमा अध्ययन गर्ने उमेर समूहको जनसंख्यामा संकुचन आएकाले पनि विश्वविद्यालय थप्नु उचित नहुने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘पहाड र तराईका सामुदायिक क्याम्पसहरूमा विद्यार्थी संख्या विगत केही वर्षदेखि क्रमिक रूपमा घट्न थालेको छ, यस स्थितिमा नजिकमा रहेका सामुदायिक क्याम्पसहरूको प्रभावकारी सञ्चालनका लागि आपसमा गाभेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।’ क्याम्पसहरू समायोजन गर्न विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगलाई पहल गर्न उनले निर्देशन दिए ।

हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक रहेको प्रधानमन्त्री दाहालले औंल्याए । स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने उनको भनाइ थियो । विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिएको उनले जनाए । आइतबार १२ सयभन्दा बढी विद्यार्थीलाई काठमाडौं विश्वविद्यालय दीक्षित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित