चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार विधिवत पूजा गरेर उदघाटन गरेपछि सबैका लागि मन्दिरमा पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिले जनाएको छ ।
इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार ढुङ्गा माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर २०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको थियो । दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, चन्दादाताले रकम सहयोग गरेका थिए । स्थानीयवासीले श्रमदान गरेका थिए ।
मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ ।
फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिरसम्म गाडीबाट जान सकिन्छ । मन्दिरसम्मै सडक पुगेसँगै आवागमन सहज भएको छ ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ऐतिहासिक महत्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको बताए ।




















Discussion about this post