अमेरिकाले आफ्नो देशका हजारौं आइफोन ह्याक गरेको रूसको आरोप

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Apple-iPhone-14-Pro-iPhone-14-Pro-Max-hero-220907.jpg.og
फाइल तस्विर

काठमाडौँ — रूसको फेडेरल सेक्युरिटी सर्भिस (एफएसबी)ले आफ्नो देशमा रहेका हजारौं आइफोनमा एक सफ्टवेयरमार्फत जासुसी गरिएको पत्ता लगाएको दाबी गरेको छ । राजधानी मस्कोमा अवस्थित कास्परस्की ल्याबले सो क्रममा आफ्ना दर्जनौं वरिष्ठ कर्मचारीहरूले प्रयोग गर्ने आइफोनमा गडबडी रहेको आरोप लगाएको हो ।

एफएसबीले आफ्ना नागरिकहरूलाई जानकारी नदिइकनै ‘फिसकिट’ नामक मालवेयर र आईओेएस अपरेटिङ सिस्टममा थपिएको ब्याकडोरहरू प्रयोग गरेर अमेरिकी नेसनल एजेन्सी (एनएसए)ले उनीहरूको व्यक्तिगत जानकारीहरू संकलन गरिरहेको पनि आरोप लगाएको छ ।

आइफोन निर्माता एप्पलले भने एक विज्ञप्तिमार्फत आफ्ना कम्पनीका फोनहरू जासुसी कार्यमा प्रयोग भएको भन्ने रूसी एजेन्सीको दाबीलाई अस्वीकार गरेको छ । बिहीबार जारी उक्त विज्ञप्तिमा एप्पलले आफ्नो कुनै पनि उत्पादनलाई घुमाउरो तरिकाले कुनै पनि सरकारको फाइदाका लागि प्रयोग हुन नदिइएको र आगामी दिनमा पनि नदिइने स्पष्ट पारेको छ । आइफोन निर्माता कम्पनीले यस्तो खाले प्रस्ताव आफ्नो कम्पनीमा एनएसएले कहिले पनि नल्याएको प्रतिक्रिया दिएको हो । यस विषयमा अमेरिकी एजेन्सीको भने धारणा आएको छैन ।

स्टाटिस्टाको एक अनुमानका अनुसार सन् २०२३ सम्ममा रूसका आइफोन प्रयोगकर्ताहरूको संख्या झन्डै २ करोड नब्बे लाख पुगेको छ । सन् २०२१ मा आफ्नो व्यवसायको उच्च विन्दुमा एप्पलले रूसबाट मात्रै ३८६ अर्ब रूबल अर्थात् साढे चार अर्ब डलर बराबरको आम्दानी गरेको थियो । फेब्रुअरी २०२२ मा भने युक्रेनमाथि आक्रमण सुरू गरेपछि एप्पलले रूसमा रहेका आफ्ना व्यापार र अन्य सबै व्यावसायिक गतिविधिहरू निलम्बन गरेको थियो । त्यतिमात्र नभएर कम्पनीले रूसको सरकारी स्वामित्वमा रहेका मिडियाहरूको एप आफ्नो स्टोरबाट हटाउनुका साथै रूसमा एप्पल पेको सेवासमेत बन्द गरिदिएको थियो । त्यो सेवा पुन: सुरू हुन्छ/हुँदैन भन्ने अन्योल कायम रहेका बेला पछिल्लो विवाद देखापरेको हो ।

एप्पल र रूसी सरकारबीचको विवाद नयाँ भने होइन । यसअघि सन् २०१८ मा एप्पलले प्रयोगकर्ताहरूको विभिन्न सूचनामाथि पहुँच दिन रूसी सरकारले गरेको आग्रह मान्न अस्वीकार गरेको थियो । सन् २०१९ मा त रूसले एक कदम अघि बढेर आफ्नो देशमा प्रयोग हुने सबै स्मार्टफोनहरूमा सरकारबाट स्वीकृत गरेका एपहरू पहिले नै इन्स्टल भएको हुनुपर्ने भन्ने कानुन पारित गरेको थियो । तर एप्पलले त्यसलाई मान्न अस्वीकार गरेपछि रूसले केही समय एप्पलका उत्पादनहरूमा प्रतिबन्धसमेत लगाएको थियो ।

रूसले एप्पललाई ‘आर्थिक धोखाधडी र आतंकवादको सहकर्मी’ भएको भन्दै सो कम्पनीका उत्पादनहरू आफ्नो देशमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने चेतावनी पनि दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित