२८ चैत, चितवन। भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै समयमा नै १४ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरुलाई किन कारर्वाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
यी निर्माण कम्पनीहरुले अधिकांश कालोपत्रे सम्बन्धी कामको ठेक्का लिएर अलपत्र पारेका हुन्। महानगरपालिकाले तोकिएको समय भित्र निर्माण सम्पन्न गर्न ठोस पहल नगरेको कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
पटक पटक सूचना, लिखित र मौखिक निर्देशन दिँदा पनि ठेकेदारहरुले काम सुरु गरेका छैनन् । सार्वजनिक खरिद ऐन २०६३, खरिद नियमावली २०६४ र ठेक्का सम्झौता प्रावधानको (जिसीसी ७२) प्रावधान अनुसार ठेक्का सम्झौता तोडेर कार्य सम्पादन जमानत जफत गर्न, कालो सूचीमा राख्न, हर्जना असुल गर्ने र बाँकी निर्माण कार्यहरुको मूल्याङ्कन गरी ठेक्का सम्झौता बमोजिम सरकारी सम्पत्ति बाँकी सरह असुल उपर गर्नेलगायतका कारबाही किन अगाडि नबढाउने भनेर महानगरले प्रश्न सोधेको छ ।
महानगरले उल्लेखित स्पष्टीकरण पेश नगरी बसेमा वा चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा सम्झौता बमोजिम कारबाही अगाडि बढाउने जनाएको छ ।





















Discussion about this post