रत्ननगर । जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा रत्ननगर–१६ स्थित पिठुवा स्वास्थ्यचौकीमा परिवार नियोजनको स्थायी बन्ध्याकरणसम्बन्धी निःशुल्क शिविर सञ्चालनका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुसँग अन्तर्क्रिया
गरिएको छ ।

रत्ननगर–१६ का वडाध्यक्ष एवं पिठुवा स्वास्थ्यचौकी सञ्चालन समितिका अध्यक्ष हेमराज थापाको अध्यक्षतामा भएको अन्तक्र्रियामा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले सन्तानको रहर पुगेका दम्पतीका लागि स्थायी बन्ध्याकरण शिविर एउटा अवसर भएको बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक पुरुषोत्तम अर्यालले स्थायी बन्ध्याकरण शिविरमा महिलाको लागि मिनिल्याप र पुरुषको लागि भ्यासेक्टोमी गरिने भएकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अधिकतम सेवाग्राहीले लाभ लिन सक्ने बताए ।
जनस्वास्थ्य कार्यालय चितवनले यही पुस २६ गते भरतपुर महानगरअन्तर्गत मेघौली स्वास्थ्यचौकी, पुस २८ गते खैरहनी नगरपालिकाअन्तर्गत कुमरोज स्वास्थ्यचौकी, आगामी माघ २ गते रत्ननगर नगरपालिकाअन्तर्गत पिठुवा स्वास्थ्यचौकी, माघ ४ गते कालिका नगरपालिकाको पदमपुर स्वास्थ्यचौकी, माघ ५ गते राप्ती नगरपालिकाको भण्डारा अस्पताल, माघ ६ गते कालिका नगरपालिकाको शक्तिखोर स्वासथ्यचौकी र माघ ८ गते माडी नगरपालिकामा पुरुष तथा महिला बन्ध्याकरण, आइयुसिडी र इम्प्लान्ट शिविर आयोजना गर्न लागेको जनस्वास्थ्य निरीक्षक अर्यालले जानकारी दिए ।
पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले सञ्चालन गरेको कार्यक्रममा रत्ननगरका स्वास्थ्यचौकीका प्रमुख, नगरस्तरीय आधारभूत स्वास्थ्यकेन्द्रका प्रमुख, स्वास्थ्यकर्मी, ल्याब असिस्टेन्ट तथा रत्ननगर–१४, १५ र १६ का महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।




















Discussion about this post