गौतमबुद्ध विमानस्थलमा माघ १० देखि आरएनपी-एआर प्रणाली लागू हुँदै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Gautam-buddha-International-Airport-1024x624
फाइल तस्विर

१६ पुस,बुटवल । भिजिबिलिटीको समस्या समाधान गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायार्ड (आरएनपी-एआर) प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको छ ।

यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भू-उपग्रहमा आधारित आरएनपी-एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भैसकेको हुँदा जनवरी २३ (माघ १०) देखि लागू हुने छ ।

मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।

‘आरएनपी-एआर प्रणाली जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ४२ दिने नोटिस यसअघि नै पब्लिस गरिसकेको छ, अब जनवरी २३ देखि लागू भएको मानिन्छ’, महाप्रबन्धक तिवारीले भने, ‘यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागू हुने नभई ए ३२० र ए ३३० स्तरका जहाजमा लागू हुने हो, ती जहाजमा आरएनपी-एआर प्रणाली लागू गर्न सकिने सिस्टम पहिल्यै हुन्छ,सबै जहाजमा यो प्रणाली हुँदैन ।’

आरएनपी-एआर प्रणाली लागू भएपनि विदेशी एअरलाइन्सका जहाजहरुले उडान र अवतरण गर्न भने समय लाग्ने तिवारीले बताए ।

यो विधि लागू गर्न विदेशी एअरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान पूरा भएको आधारमा अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न समय लाग्ने तिवारीले खुलाए ।

‘हाल गौतमबुद्ध यांत्रिक विधि (आईएफआर)मा उडान गर्दा न्यूनतम भिजिबिलिटी १८०० मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी-एआर विधिमा ९०० मिटर भिजिविलिटी भए जहाज अवतरण गर्न सक्नेछन्’, तिवारीले भने, ‘यो विधि एउटा फ्लाइङ रुट हो, जसमा कुन डाइरेक्सन,कुन एङगलबाट जहाज एअरपोर्टमा ल्याण्ड गर्ने भन्ने पाइलटले फलो गर्नुपर्छ ।’

यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।

यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने तिवारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी-एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९०० मिटरको भिजिबिलिटिमा काम गर्ने उनले जानकारी दिए ।

भिजिबिलिटीको समस्या देखाउँदै उडान बन्द गरेको जजिराले फेब्रुअरी १ बाट र फ्लाई दुबईले १३ जनवरीबाट उडान गर्ने भनेका छन् । कतार एअरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यस यता उडान गर्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित