१४ असोज, काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।
सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी हुँदैछ ।
त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् ।
अवरोधहरु हटाउने क्रम सकिन लागेसँगै काठमाडौंबाट छुट्ने सार्वजनिक सवारीहरुलाई पनि यात्रु बोकेर जान अनुमति दिन लागिएको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन कार्की धादिङको झ्याप्ले खोला तथा सिम्लेमा सडकमा अहिले पनि आंशिक अवरोध रहेको र त्यो हट्नासाथ बसरु छुट्न दिइने बताउँछन् ।
‘गाडीहरु पास हुनसक्ने अवस्था हेरेर आजैबाट छुट्ने दिने तयारी छ,’ उनले भने, ‘सडकमार्गमा सवारी र यात्रु सुरक्षित हुने र लामो समय जाममा नपर्ने सुश्चित गरेर पठाउन थाल्छौं ।’ पानी परेमा वा सडकमा अवरोधहरु आएमा भने सवारीलाई रोकिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
अहिले केही सवारीहरु नागढुंगा नाकातर्फ हिँडिसकेको प्ररही स्रोतले बतायो । सडक तथा पुलमा भएको क्षतिका कारण बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी भने कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने अनिश्चित छ ।




















Discussion about this post