८ असोज, काठमाडौं । तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् ।
सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।
यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्।
थारू महिला समाज उपत्यका समिति अध्यक्ष सुशीला चौधरीले सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिने गरेको बताइन्।
उनले अनलाइनखबरसँग भनिन्, ‘ थारू समुदायको महान् पर्व हो- जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्।’
मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाच/गान) गर्ने चलन छ ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६१ सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको थारू महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरीको भनाइ छ ।
उनले भनिन्, ‘थारु महिलाहरुले विगत २० वर्षदेखि काठमाडौंमा प्रत्येक वर्ष जितिया पर्वलाई राष्ट्रिय महोत्सवको मनाउँदै आइरहेका छौं। यस वर्ष पनि पर्यटन बोर्डको हलमा मनाउँदैछौ।’
थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ ।




















Discussion about this post