टिकापुर- एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ। चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। ‘स्थानीयले तीन चितुवा देखेको बताएका छन्। हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ’, उनले भने।
चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ। दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ। चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ।
शहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन्। चितुवाले दैनिक जनावर मार्न थालेपछि साँझबिहान हिँडडुल गर्नेहरू त्रासमा छन्। यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका स्थानीय रुपा विकले बताइन्।
बर्दिया राष्ट्रिय निकुञ्जबाट नदीवारि आएका चितुवा वडा नं २ मा रहेको सामुदायिक वन हुँदै शहर पसेको आशङ्का गरिएको छ। बजार क्षेत्रमा मात्र होइन, टीकापुरको वडा नं ७ र ८ मा पनि जङ्गली जनावरले आतङ्क मच्चाएको छ। त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको छ।




















Discussion about this post