चितवनकी शालिन पोखरेल गत शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिइन्। चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
उनीहरूको कोलाहाल सुनेर विद्यालय नजिकै रहेका स्थानीयहरु पुग्दा शालिनलाई घाँटीमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला पारेका थिए। घँटीमा डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको आफन्तले दाबी गरेका छन्।
यता, घटना शंकास्पद रहेको रत्ननगर नगरपालिका १० का वडाध्यक्ष कलाधर पौडेलले बताए।
‘उक्त होस्टेलको ‘गर्ल्स होस्टेल’ साइटमा शालिन सहित अरु तीनजना बहिनीहरु बस्दा रहेछन्’ उनले भने, ‘केटाहरूको लागि च्यानल गेट नै छुट्टै भएको अर्को साइडमा कोठाहरू छन्। चार जना बहिनीहरु छुट्टै ठाउँमा बस्ने व्यवस्था थियो। शनिबार बिहान उनी बस्ने कोठामै पंखामा झुण्डिएको अवस्थामै फेला पारियो भन्ने खबर आएपछि हामी यहाँ आइपुगेका थियौं। घटनाबारे प्रहरीले अनुसन्धान त गर्ला तर कसरी यस्तो अवस्था आयो भन्ने कुरा शंकास्पद नै छ।’
उनका अनुसार शालिनले स्काउटको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। शव घुँडा टेकिएको अवस्थामा फेला परेपछि पीडित आफन्तहरूले बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार उक्त घटनाको अनुसन्धान गर्न तीनजनालाई पक्राउ गरिएको छ।
‘हत्या अथवा आत्महत्या के हो? भन्ने विषयमा अनुसन्धान भैरहेको छ। विद्यालय प्रशासनदेखि होस्टेल इन्चार्जसम्म प्रहरी नियन्त्रणमा छन्। अनुसन्धान हुँदै छ,’ उनले भने।




















Discussion about this post