१६ फागुन, पोखरा । पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न बिहीबार सेती नदीको बाँध खोलिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले फागुन १७ गते बिहीबार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिए ।
प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।
सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन छन् । १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।
यसअघि मंसिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो । पछि उनी सेती नदीको नदीपुर क्षेत्रमा मृत फेला परेका थिए ।




















Discussion about this post