जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण निःशुल्क

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20230721-095401_Chrome
फाइल तस्विर

भरतपुर । निजी प्रयोगशाला र भरतपुर अस्पतालले डेंगु परीक्षणको रू छ सय लिँदै गर्दा यहाँस्थित प्रदेश सरकार मातहतको जनस्वास्थ्य प्रयोगशालाले भने निःशुल्क जाँच गरिरहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले भने, ‘यो सरकारी प्रयोगशाला हो, डेंगु परीक्षण सेवा निःशुल्क छ ।’

आममानिसले परीक्षण गराउने डेंगुलगायतका सबै खालका जाँचहरु (झन्डै एक सय ५० थरी) यहाँ गरिने उनले बताए । नमुना लिएको दुई घन्टामा नतिजा दिन सकिने गरी काम थालिएको छ ।

भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको एक महिना भएको छ । भरतपुरस्थित स्वास्थ्य कार्यालय परिसरभित्र यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशको मूल सेवा कार्यालय धुलिखेलमा रहेकोमा भरतपुरमा इकाइ सेवा कार्यालयको रुपमा प्रयोगशाला स्थापना गरिएको हो । झन्डै आठ करोड लागतमा मेसिन खरिद गरिएको हो । अहिले दैनिक सयदेखि एक सय पचाससम्म नमुनाहरु जाँच गरिन्छ । जसको क्षमता एकैपटकमा एक हजारदेखि एक हजार दुई सय नमुना जाँचसम्मको छ ।

अत्याधुनिक ल्याब सेवा भरतपुरमै छ भन्नेबारे आममानिसलाई थाहा नहुँदा ल्याब पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । कुनै पनि परीक्षण निजी ल्याबको भन्दा महँगो छैन । राष्ट्रिय प्रयोगशाला टेकुले निर्धारण गरेको दर नै कार्यान्वयनमा ल्याइएको छ । अन्य अस्पताल तथा प्रयोगशालाको भन्दा हरेकजसो परीक्षणमा आधा शुल्क निर्धारण गरिएको छ ।

कतिपयमा ६६ प्रतिशतसम्म छूट छ । केही परीक्षण सबैका लागि निःशुल्कसमेत छन् । तर, लक्षित समुदाय, विपन्न नागरिकका लागि यो सबै सेवा निःशुल्क हुनेछ । बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने दिन यो सेवा लिन सकिन्छ ।

‘ल्याबमा परीक्षणका लागि चिकित्सकले सिफारिस गर्नुपर्छ, जुन अस्पताल, क्लिनिकको भए पनि हुन्छ’, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले भने, ‘महँगो रकम तिरेर अन्यत्र परीक्षण गराउन पर्दैन ।’

यस प्रयोगशालाको गत असार १६ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शुभारम्भ गरेका हुन् ।

यसैबीच चितवनमा हाल डेंगुको सङ्क्रमण सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । निमित्त जनस्वास्थ्य प्रमुख इन्द्रमणि भण्डारीले जिल्लामा डेंगुको बिरामी फाटफुट रहेको बताए । कुल ६ सय ५१ जनाको परीक्षण गर्दा ६१ जनामा डेंगु पुष्टि भएको छ । पुष्टि भएकामध्ये ३३ जना चितवनका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेका छन् ।

‘अहिलेको मौसम डेंगु सङ्क्रमणको हिसाबले उपयुक्त रहेको उल्लेख गर्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भण्डारीले भने, ‘लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट बच्न सकिन्छ ।’ भरतपुर अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले हाल अस्पतालमा डेंगुका बिरामी खासै नभएको जानकारी दिए । चिसो मौसममा भन्दा तातो मौसममा डेंगुको जोखिम बढी हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन पर्ने डा. कँडेलले बताए ।

गत वर्ष भदौ महिनामा चितवनमा डेंगु सङ्क्रमण उच्च रहेको थियो । फिजिसियन डा. सन्दीप पाण्डेले ज्वरो आउँदैमा डेंगु नहुने, तर सजग भने हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित