पानी पर्न सुरु भयो, लामखुट्टेको टोकाइबाट बचौँ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
dengi
फाइल तस्विर

चार/पाँच महिना अगाडिसम्म हामीले डेङ्गीको ठूलो प्रकोप बेहोर्यौँ । जाडो महिनामा डेङ्गीको सङ्क्रमण निकै कम देखियो । अहिले पानी पर्न सुरु भएको छ । यो मौसममा हामी बढी सचेत र सजग हुनुपर्छ । डेङ्गी भाइरसबाट लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको सहायताबाट सर्ने रोग हो । त्यसैले लामखुट्टेको वृद्धि तथा विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले हाम्रो घर वरिपरि, हाम्रो कार्यस्थलमा, कहीँ पनि सफा पानी जम्मा भएको छ, धेरै दिनदेखि नचलाई त्यत्तिकै स्थिर बसेको छ भने त्यस्तो अवस्थामा हामी सजग तथा सचेत हुनुपर्छ ।

दोस्रो भनेको लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा ठूलो उपाय हो । यसका लागि हामीले कार्यस्थलमा रहँदा, घरपरिवारमा रहँदा सबै शरीर ढाक्ने कपडा प्रयोग गर्ने, सुत्दा दिउँसो भए पनि झुलको प्रयोग गर्नुपर्छ ।
यो लामखुट्टे हामीले थाहा नपाउने गरी हाम्रो घर वरिपरिमा प्रशस्त रहेको हुन्छ । जस्तो, घरमा राखेको थोरै फूलदानीमा यसले आफ्नो जीवनचक्र पूरा गर्नसक्छ । कुलरमा, एसीमा जमेको पानीमा अथवा फ्रीजमा जमेको पानीमा पनि यो सजिलै रहनसक्छ । यस्तो अवस्थामा हामी बढी सचेत रहनुपर्यो । यी ठाउँहरुमा जहाँ पानी सञ्चय भइरहन्छ त्यस ठाउँमा निगरानी राख्नुपर्यो । आफ्नो घर वरिपरि, छतमा पानी ट्यांकी छ, ड्रम छ भने त्यसलाई बिर्को लगाएर राख्ने वा छोप्ने, ढाक्ने काम गर्न सक्यौँ भने लामखुट्टेको नियन्त्रण गर्न सक्छौँ र लामखुट्टे नियन्त्रण भयो भने डेङ्गीको रोकथाम र नियन्त्रण गर्न सहज हुन्छ ।

खासगरी डेङ्गी भाइरसबाट लाग्ने रोग भएको हुनाले अन्य भाइरसमा जस्ता जस्ता प्रकृतिका लक्षण देखिन्छन् यसमा पनि देखिने त्यस्तै प्रकृतिको लक्षण हो । भाइरसजन्य रोगहरुमा यो औषधिको प्रयोग गर्ने वा यो औषधि खाएपछि तत्काल निको भैहाल्छ भन्ने अवस्था देखिँदैन । डेङ्गी लागेका बिरामीमा ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने अथवा आलस्य, थकाइ लागेको जस्ता लक्षणहरु देखिन्छन् । यस्ता लक्षणहरु देखियो भने जथाभाबी औषधि खान हुँदैन । डाक्टरको परामर्श र सल्लाहबाट औषधिहरु प्रयोग गर्नुपर्छ । तर, कहिलेकाहीँ हामीले बेवास्ता गर्यौँ भने, जटिल प्रकृतिका लक्षणहरु देखिने डेङ्गी भयो भने त्यस्तो बेलामा हामी सचेत भएर अस्पतालमा पुग्नुपर्छ ।

कहिलेकाहीँ डेङ्गीले शरीरमा रगत जम्ने प्रकृयामा समस्या बनाउँछ, शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्छ, शरीरमा पानीको मात्रा कम हुन्छ । शरीरमा पानीको मात्रा कम हुने बित्तिकै जलवियोजन वा डिहाइड्रेसन जस्ता समस्या देखिन्छन् । असाध्यै पेट दुख्यो, असाध्यै वान्ता भयो यस्तो प्रकृतिका लक्षणहरु देखियो भने तत्काल स्थास्थ्य संस्थामा डाक्टरको परामर्शमा जानुपर्छ । उहाँहरुको सल्लाह र सुझावको आधारमा हामीले विभिन्न सावधानीहरु अपनाउनु पर्ने देखिन्छ ।

सामान्य प्रकृतिका डेङ्गीका बिरामीहरु घरमा बस्दा, आराम गर्दा, सामान्य पारासिटामाेलहरुको प्रयोग गर्दा, खानामा विशेष प्रकारका झोलिलो पदार्थहरुको प्रयोग गर्दा तथा अन्य सावधानी अपनायौँ भने पनि भाइरसजन्य रोगहरु निश्चित समयमा आफैँ निको भएर जान्छ । तर, यसो भन्दै गर्दै जटिलता हुन लाग्यो, अप्ठ्यारो हुन लाग्यो भने जटिल प्रकृतिको डेङ्गी हुन्छ जसलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ त्यस्तो अवस्थामा डाक्टर तथा स्वास्थ्यकर्मीको परामर्शमा जानुपर्छ ।

सामान्य ज्वरो मात्र आएको छ, टाउको मात्र दुखेको छ अथवा शरीर मात्र दुखेको छ भने त्यस्तोमा हामी सामान्यरुपमा घरमा आराम गर्न सकिन्छ । कहिलेकाहीँ असाध्यै धेरै पेट दुख्ने भयो, असाध्यै धेरै वान्ता भयो, शरीरको छालामा राता बिमिराहरु देखिन थाले, पिसाबमा रगत देखिन थाल्यो, वान्तामा रगत देखिन थाल्यो यस्तो अवस्थामा यो जटिल प्रकृतिको डेङ्गीको लक्षण हुनसक्छ भनेर हामी सावधान हुनुपर्छ ।

हामीले गएको वर्षको तथा महिनाको अनुभवबाट धेरै कुरा सिकेका पनि छौँ । यस अवधिमा विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरेका छौँ । जुनसुकै पालिकाबाट वा कहीँ कतैबाट डेङ्गीका बिरामीहरु रिपाेर्टिङ हुनुभयो भने वा डेङ्गीका बिरामीहरुको प्रतिवेदन भयो भने सम्बन्धित पालिकालाई तपाईँको पालिकाको यो वडाबाट यी व्यक्तिहरुमा डेङ्गीको रिपाेर्टिङ  भएको छ त्यसकारण त्यो ठाउँमा, त्यो क्षेत्रमा, त्यो टोलमा डेङ्गी रोकथाम र नियन्त्रणका लागि अपनाउनु पर्ने, लामखुट्टेको लार्भालाई खोज्ने, नष्ट गर्ने अभियान सञ्चालन गर्नुस् भनेर अनुरोध गर्छौँ । अहिलेसम्म झण्डै ९० जति पालिकाहरुमा जहाँबाट केस देखिएको छ उहाँहरुलाई हामीले पत्राचार गरिसकेका छौँ ।

दोस्रो चरणमा प्रदेश अन्तर्गतका विभिन्न निकायहरु, स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक तथा काठमाण्डौ उपत्यका लगायतका स्वास्थ्य कार्यालय प्रमुख तथा केही पालिकाहरु जहाँबाट केस रिपाेर्टिङ  भएको छ त्यहाँको स्वास्थ्य हेर्ने साथीहरुलाई अब चाहिँ हामी बेलैमा सचेत हुनुपर्छ, डेङ्गीका बिरामीहरु रिपाेर्टिङ  हुँदै हुनुहुन्छ, यस्तो अवस्थामा डेङ्गीको प्रकोप भइसक्नु भन्दा पनि अगाडिदेखि नै हामी सचेत रहनुपर्छ, खबरदारी, पैरवी गर्नुपर्छ सचेतना फैलाउनु पर्छ भनेर उहाँहरुसँग पनि पैरवी गरिरहेका छौँ ।

त्यसैगरी हामीले वर्षभरिको डेङ्गीको कार्ययोजना बनाएका छौँ । डेङ्गी नियन्त्रणका लागि स्वस्थ्य तथा जनसंख्या मन्त्रालय मात्र नभएर त्योभन्दा बाहेकका अन्य मन्त्रालयहरु, अन्य निकायहरु सबैको साथ रह्यो भने मात्र लामखुट्टे नियन्त्रण गर्न सकिन्छ र सबै मिल्यो भने मात्र सम्भव छ भन्ने कुरालाई कार्ययोजनामा समेटेर सरोकारवाला सबैलाई हामीले पत्राचार गरेका छौँ । अहिले सबै ठाउँबाट सक्रियरुपमा डेङ्गी नियन्त्रण गर्ने उपायहरु अपनाउनु भएको छ त्यसले गर्दा हामी आशा गर्न सक्छौँ यो वर्ष हामी डेङ्गीको त्यति धेरै ठूलो प्रकोप बेर्होनु पर्दैन होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित